ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ: नेता रायमाझी

Sharing is caring!

असोज २४, २०७५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री  टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर-चेन्ज’ गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रायमाझीले यस्तो बताएका हुन् ।
उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने,‘यतिमात्रै होईन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं । यतिवेला ज्यादै नै महत्वपूर्ण र सकरात्मक परिस्थिति सिर्जना भएको छ। विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन् । राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो । त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाईको सरकार बनेको छ ।’
उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे । उनले भने,‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ।’
यद्धपी अहिलेपनि पूरानै संस्कारका धंगधंगीहरु रहेको उनको भनाई थियो । रायमाझीले थपे,‘पूरानो संस्कारमात्रै होईन, पूरानो संविधान र यसको अभ्यासको पनि धंगधंगी छन् । अब नयाँ संविधानको अभ्यासको सन्दर्भमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार निर्माण भएका छन् । अब तिनीहरुको तीनै तहका संस्थाहरुको योजना, बजेट र अधिकारको बाँडफाँड र कार्यान्वयनको व्यापक अभ्यास गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।’
उनले अघि थपे,‘तर, सोच, संस्कार र चिन्तनको कुरा आउँछ । यसले थोरै द्धिविधाजस्तो देखिन्छ । जति द्रुत गतिमा सरकारले कामहरु सम्पादन गरेर, योजना बनाएर अघि बढ्नुपर्ने हो, त्यो चाहीँ अलिकति कठिनाई भएको, जनताको आकांक्षा अनुसार अगाडि बढ्न नसकेको जस्तोपनि देखिन्छ । जहाँसम्म सरकारले विकास र समृद्धि, अनि सुशासनको क्षेत्रमा जनतालाई पर्ने महँगीदेखि भ्रष्टाचारका सवाल छन्, यस विषयमा जनताका गुनासाहरु छन् । त्यसलाई सरकारले तिव्र रुपमा ती विकृति, विसंगती र कमिकमजोरीहरुलाई हटाएर अब राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा तिव्र रुपमा अगाडि बढ्नुपर्दछ ।’
अब सरकारले अलिकति पिक–अप, गियर बढाउनुपर्ने उनको सुझाव छ । उनले भने,‘सरकारले अब गियर चेन्ज गरेर तिव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको लागि म आग्रह गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *