एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक नभएको सरोकारवालाहरुको दाबी

Sharing is caring!

असार १३, २०७६ । सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रम बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । उनले भने,‘यो नतिजालाई लिएर आश्चर्य मान्नुपर्ने छैन ।’

कार्यक्रम बोल्दै उनले ग्रेडले नतिजामा कुनै फरक नपारेको सुनाए । उनले ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको सुनाए । सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराए ।

उनले भने,‘परीक्षाको बेलामा मात्रै ध्यान दिएर हुँदैन, अब परीक्षा अघि र पछिको व्यवस्थापकीय कुरामा पनि सामूदायिक विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ ।’

नेपालमा पाठ्यक्रम विकास गर्दा पर्याप्त छलफल तथा परामर्श नै नभएको पनि भण्डारीको गुनासो छ । सामूदायिक विद्यालयतर्फबाट राम्रो नतिजा ल्याउने विद्यार्थीको पृष्ठभुमि निजी विद्यालयमा अध्ययन गर्नुनै मुख्य रहेको पनि उनले दाबी गरे ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिए ।

त्यस्तै, उनले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने स्पष्ट पारे । शिक्षक शिक्षणको कमजोरीका कारण नतिजा सन्तोषजनक नआएको उनको आरोप छ ।

उनले भने,‘अहिलेको शिक्षा पद्धतीनै गलत छ । यसलाई सच्याउनुपर्छ ।’ उनले व्यवहारिक शिक्षा प्रणालीलाई लागु गर्नुपर्नेमा जोड दिए ।
भण्डारीले कक्षा दशमा लिईने टेष्ट परीक्षालाई खारेज गर्नुपर्ने आवश्यकत्ता औंल्याए । मुलुक संघीय प्रणालीमा गैसकेको भएपनि अझैसम्मपनि शिक्षा क्षेत्रले उक्त प्रणालीअनुसार आफ्नो संरचना बनाउन नसकेको उनको गुनासो थियो ।

कार्यक्रममा एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरेका छन् । उनकाअनुसार यही प्रणालीका कारण प्रदेश नम्बर २ को एसईईको नजिता सन्तोषजनक आएन ।

सापकोटाले एसईई दिईसकेपछि र नतिजा नआउन्जेलसम्म विद्यार्थीहरु तहविहीन भएको सुनाए । उनले भने,‘यो अवधिमा विद्यार्थीहरु कुलतमा फस्ने खतरा धेरै छ । त्यसैले यो अवधिलाई ध्यान दिएर उनीहरुको तह छुट्याउनुपर्छ ।’ नेपालको शैक्षिक सत्रनै अव्यवहारिक र समयसापेक्ष नभएको उनको धारणा छ ।

त्यस्तै, प्याव्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ।’

सरकारले नीतिगत रुपमै शिक्षा क्षेत्रमा विभेद सिर्जना गरेको उनको आरोप छ । उनले भने,‘सामूदायिक विद्यालयमा सरकारले ठूलो साईजमा लगानी गरेको छ, तर, उसको नतिजा हेर्दा परीणाम शुन्य छ । जबसम्म अभिभावकमा जनचेतना, शिक्षण विधि र जवाफदेहिता हुँदैन, तबसम्म शिक्षा प्रणाली राम्रो हुँदैन् ।’

ढुंगानाले नेपालमा कुन शैक्षिक प्रणाली अपनाउने भनेर एकिनका साथ कार्यक्रम तथा नीति लागु गर्न नसकिएको पनि गुनासो पोखे । उनले थपे,‘नेपालमा शिक्षा प्रणालीबारे जहिल्यैपनि परीक्षणमात्रै गरियो ।’ उनले पनि शैक्षिक क्यालेण्डर सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गरे । उनले भने,‘राजनीति प्रणाली सप्रियो भने नेपालको शैक्षिक प्रणाली स्वतः सुध्रिन्छ ।’

केसीले नेपालमा एसईईको कुनै सान्दर्भिकता नै नभएको दाबी गरे । उनले भने,‘जे रोप्यौं, आज त्यही फलेको छ । शिक्षा आयोग गठन गर्दा नै गलत गरिएको छ । आसेपासेलाई मात्रै नियुक्ती गरिएको हो । त्यहीअनुसार परीणाम आउँछ । हामी राम्रो नतिजा आउने बाटोमा हिँडेकै छैनौं ।’
केसीले मुलुकमा सिपमूलक शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । उनले शिक्षाप्रति नेपालीहरु बफादार नभएको पनि गम्भिर टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *