एमालेमा आन्तरिक लोकतन्त्र ‘कमजोर’ विधानअनुसार बस्नै छाडे बैठक

Sharing is caring!

वैशाख २२, २०७५ । नेतृत्वदेखि पार्टीका जिम्मेवार पदाधिकारीसम्म सरकार सञ्चालनमा व्यस्त हुँदा नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको छ । देशकै दुई ठूला कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा पार्टीभित्र संस्थागत छलफल एवं निर्णय हुन छोडेको छ । एमाले पार्टी विधानअनुसार सञ्चालन नहुँदा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गइरहेको नेताहरूले नै बताउन थालेका छन् ।

एमाले पार्टी विधानको धारा ४१ मा स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठक १५ दिनमा, पोलिटब्युरो तीन महिनामा र केन्द्रीय कमिटी बैठक ६ महिनामा बस्नुपर्ने उल्लेख छ । तर, पार्टीको बैठक विधानअनुसार बस्न सकिरहेको छैन ।

पार्टी हाक्ने जिम्मेवार नेता सरकार सञ्चालनमा व्यस्त हुँदा पार्टी विधानअनुसार बैठक हुन सकिरहेको छैन । पार्टीभन्दा बढी समय नेताहरूले सरकार सञ्चालनमा दिनुपरेका कारण बैठक बस्न नसकेको नेताहरू बताउँछन् ।

अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री, महासचिव ईश्वर पोखरेल रक्षामन्त्री, सचिव एवं केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री, सचिव एवं संगठन विभाग प्रमुख प्रदेश ४ को मुख्यमन्त्री भएका छन् । मुख्य जिम्मेवारी पाएका पार्टीकै अन्य जिम्मेवार नेताहरूसमेत मन्त्री हुनुका साथै प्रदेश सरकार सञ्चालनमा व्यस्त छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली अहिले सरकार सञ्चालनका साथै माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई टुंगोमा पुर्याउन माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा व्यस्त छन् । यसबीचमा पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी बैठक बोलाउँदै स्थगित गर्ने प्रक्रियामा पनि सँगसँगै चलिरहेको छ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले दुई पार्टीबीचको एकता प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारीको अभावले आफू अलमलमा परेको बताइन् । पार्टीको बैठक बस्न नसकेर एकता विषयमा आफूलाई जानकारी नभएको उनले बताइन् ।

‘बैठक नराख्ने र बैठक गरी छलफल नगर्ने कारणले म आफंै अन्योलमा परेको छु, एकता विषयमा बोल्न मलाई अप्ठ्यारो परेको छ,’ उपाध्यक्ष शाक्यले भनिन्, ‘म पनि स्थायी कमिटी सदस्य छु तर धेरै कुरा थाहा हुँदैन, बैठक भएको भए छलफल हुन्थ्यो ।’

कार्यकर्ताको चाहना दुई पार्टीबीच छिटो एकता होस् भन्ने रहेको बताउँदै उनले जति ढिलो भयो, त्यति नै अन्योल एवं चलखेल हुने सम्भावना रहेको बताइन् । निर्वाचनबाट प्राप्त जनादेशअनुसार मतदाता एवं कार्यकर्ताको विश्वास नतोड्न आग्रह गर्दै उनले आलटाल नगरी एकता प्रक्रियालाई टुंगोमा पर्याउनुपर्ने बताइन् ।

‘पार्टीकै बैठकले एकता संयोजन समिति गठन भयो, सो समितिले कार्यदल गठन गर्दै मह्त्वपूर्ण प्रतिवेदन तयार गरिसकेको छ, दुई अध्यक्षलाई अन्तिम टुंगो लगाउन जिम्मेवारी दिइएको छ,’ शाक्यले भनिन्, ‘तर नियमित बैठक हुन सकिरहेको छैन, बेलाबेलामा के भइरहेको छ, जानकारीको अभाव छ, सबै कुरा अलमलमा छ, थाहा नै हुँदैन अप्ठ्यारो छ ।’

केही समययता एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालका बीच ‘वान टु वान’ छलफल चलिरहेको छ । एकता प्रक्रियालाई टुंगो लगाउन छलफल भए पनि प्रगतिबारे जानकारी दिन पार्टीको बैठक बस्न नसक्दा नेताहरू अप्ठ्यारो महसुस गर्न थालेका छन् ।

एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी विधानअनुसार चल्न नसकेको स्वीकार गरे । पार्टी विधानअनुसार नियमित बैठक हुन छोडेको बताउँदै उनले संस्थागत निर्णयका साथै संस्थागत छलफल हुने प्रक्रिया पार्टीमा नभएको उनले बताए ।

पार्टी विधानअनुसार बैठक हुन छोडेको बताउँदै गैरेले एकताको विषय बैठकमा छलफलको विषय बन्न नसकेको बताए । पार्टीको स्वतःस्फुर्त हुने कार्यबाहेक अन्य काम ठप्पजस्तै भएको उनले बताए ।

‘पार्टी विधानअनुसार बैठक हुन सकिरहेको छैन, पार्टी एकता बैठकको छलफलको विषय बन्न सकिरहेको छैन,’ केन्द्रीय सदस्य गैरेले भने, ‘दुई अध्यक्षलाई पार्टी एकतालाई टुंगो लगाउन जिम्मेवारी दिइएको हामीले मिडियाबाट थाहा पाएका छौं ।’

पार्टी एकतालाई पार्टीको छलफलको विषय बनाएर छलफल गर्नुपर्ने सुझाव उनले दिए । देश र जनताको आवश्यकता एवं चाहना पूरा गर्न दुई कम्युनिस्ट पार्टीबीचको एकता अपरिहार्य रहेको बताउँदै उनले यसलाई छिटोभन्दा छिटो टुंगो लगाउनुपर्ने बताए ।यो खबर आजको राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *