उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती

Sharing is caring!

असार २२, २०७६ । सरकारको बेवास्ताका कारण काठमाडौं उपत्यकाका ट्राफिक बत्ती वर्षौंदेखि नबली बेवारिसे अवस्थामा छन् । ट्राफिक बत्तीको मर्मत सम्भार तथा नयाँ बत्ती जडानमा सरकारले चासो र तत्परता नदेखाउँदा ट्राफिक व्यवस्थापनमा समेत दिन प्रतिदिन जटिलता थपिँदै गएको छ ।१२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले पनि अनावश्यक हैरानी खेप्नुपरेको छ ।

हाल काठमाडौं उपत्यकामा बेलाबखत ४-५ ठाउँमा मात्र बत्ती बल्ने गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त त उपत्यकामा बत्ती नै बल्न छाडेको बताउँछन् । उनले सम्बन्धित स्टेक होल्डरसँग समन्वय गर्ने, पत्राचार गर्ने र सुझाव दिने काम गरिरहे पनि ट्राफिक बत्तीको उचित व्यवस्थापन नभएको बताए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताए ।

‘हामीले बनाउन अनुरोध गरेका हौं । विभाग बनाउँछौं, बत्ती हाल्छौं भन्छ तर अहिले पनि बनेन,’ उनले राजधानीसँग भने ।
उपत्यकाभित्र हाल बानेश्वर चोक, सल्लाघारी, गठ्ठाघर, जडीबुटी चोक र महाराजगन्ज चोकमा रहेका ट्राफिक लाइट बल्छन् तर तीमध्ये केही बल्दैनन् ।२०३७ सालमा जाइकाले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । त्यसपछि केही वर्ष बत्ती बले पनि फेरि बत्ती बल्न बन्द हुन पुगेको हो ।

सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा काठमाडौं महानगरपालिकाको सक्रियतामा २०७४ चैत मा दशकपछि ११ ठाउँमा ट्राफिक बत्ती सञ्चालनमा आएको थियो । तर, केही दिन बित्न नपाउँदै अधिकांश ठाउँका बत्ती बल्न छाडेका थिए । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौं महानगरपालिका सुन्धारा र सोल्टिमोड चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । ती स्थानमा बत्ती नै बल्न छाडेका छन् ।
उपत्यकाभित्रका सवारीसाधन व्यवस्थापन गर्न कालीमाटी, थापाथली, माइतीघर, सिंहदरबार, पुतलीसडक, केशरमल, गौशला, कोटेश्वरलगायतका क्षेत्रमा ट्राफिक बत्ती जडान गरे पनि ती ठाउँमा बत्तीका पोल र नबल्ने बत्ती मात्र देख्न सकिन्छ ।
ट्राफिक जाम न्यूनीकरण गर्न उपत्यकाभित्र १ सय ३९ स्थानमा ट्राफिक बत्तीको आवश्यकता देखिएको महानगरीय ट्राफिक महाशाखा जनाएको छ । तर, हाल उपत्यकाका चोकमा ट्राफिक बत्ती नै बल्न छाडेको हो ।
सडक विभागले काठमाडौंमा बत्ती मर्मत तथा जडानको काम नगरेपछि काठमाडौं महानगरपालिका आफैंले पनि बनाउने तयारी सुरु गरेको छ । ‘हामीले विभागलाई जति भने पनि नभएपछि आगामी वर्षको नीति तथा कार्यक्रममा चोक चोकमा ट्राफिक बत्ती बाल्ने योजना ल्याएका छौं,’ प्रवक्ता डंगोलले भने ।

पैदल यात्री मर्कामा

काठमाडौं उपत्यकामा ट्राफिक बत्ती नहुँदा सवारी चालक र ट्राफिक प्रहरीलाई मात्र नभएर पैदल यात्रुले समेत सास्ती भोग्नुपरेको छ ।पैदल यात्रुले बत्ती अभावमा जेब्रा क्रसिङमा ज्यान नै खतरामा राखेर बाटो काट्न बाध्य छन् । बत्ती नभए पनि सवारी पनि नरोकिने हुँदा यात्रुको सुरक्षामा समेत खतरा हुने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा ३ सयको संख्यामा जेब्राक्रस छन् । तर, ट्राफिक बत्ती भने कहिले ३-४ ठाउँ त कहिले एक ठाउँमा मात्र बल्छन् । नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा बत्ती बल्ने गरेको छ । नयाँ बानेश्वर चोकको बत्ती अधिकांश समय बल्दैनन् । थापाथली, बानेश्वर, सिंहदरबार, पुतलीसडक, कुमारी बैंक, पद्मोदय मोड र माइतीघरको जेब्राक्रस बढी व्यस्त भए पनि त्यहाँका सडक बत्ती नै बल्दैनन् । यो खबर राजधानीबाट लिएका हौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *