आयल निगमका प्रवक्ता उपाध्यायले भने–पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन्

Sharing is caring!

कार्तिक २६, २०७८ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् । उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने बताएका हुन् । उनले भने,‘समायोजना भन्नुहोस वा अरु केही भन्नुहोस, तर यो मूल्यवृद्धि भएकै हो । समायोजन त निगमको बाध्यता हो । अहिलेको अवस्थामा यो फिर्ता हुँदैन् ।’

बोल्दै उनले पछिल्लो चार-पाँच वर्षको मूल्य हेर्दा पेट्रोलियम पदार्थको मात्रै मूल्यवृद्धि बढेको हो र ? भन्दै प्रश्न उठाएका छन् । आम उपभोक्तासँग जोडिएका अन्य वस्तुमा पनि मूल्यवृद्धि भएको उनको भनाई थियो ।

उनले भने,‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवृद्धि हो कि समायोजन ? भनेर साथीहरुले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजना नै भन्छौं, अनि घट्दापनि समायोजन नै भन्छौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो । यो पूर्ण रुपले अन्य मूलुकमा निर्भर हुने विषय हो। अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ । आयल निगमले जुन मूल्य सूचि प्राप्त गर्छ, हरेक चोटी हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ पार्छौं । सरकारको सम्बन्धित निकायले विश्लेषण गरेको हुन्छ । लेखापरीक्षणको रिपोर्टमा हाम्रो वार्षिक प्रतिवेदन आउँछ । हामीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नको लागि साधारणसभा आह्वान गर्दै आएका छौं, गत पुषमा हामीले साधारणसभा गरेका थियौं ।’

उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे । उपाध्यायले थप भनेका छन्–‘अहिलेसम्मको अवस्था हेर्दा मूल्यवृद्धि फिर्ता हुँदैन् । सरकारले त यातायातको भाडा वृद्धि गरेको छ, अब निगमले मूल्यवृद्धि फिर्ता गर्ने या नगर्ने भन्ने कुरा होईन, यो सरकारको रिलेटेड कुरा हो । पेट्रोलियम पदार्थमा नाफारहित मूल्य हुनुपर्छ । यो कुरा त हामी पनि भन्छौं । राज्यको पूर्ण स्वामित्व भएको संस्था हो–आयल निगम । पाईपलाईन आउँदा २ रुपैयाँ घटाएका थियौं । यो त सुधारको कार्यक्रम हो ।’ उनले आफूहरु गत २० वर्षदेखि बोनस नखाएको पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *