आठाैं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न

Sharing is caring!

बैशाख १२, २०७६ । दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा कार्यकारी समितिका संयोजक केशवकुमार विष्टले गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं संस्करणको आयोजनाका लागि झन्डा हस्तान्तरण गरेका थिए ।

हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको सातौं संस्करण २०७३ पुसमा पूर्वाञ्चलमा आयोजना भएको थियो । सातौंकै समापनमा प्रदेश ५ ले आठौं राष्ट्रिय प्रतियोगिताको जिम्मेवारी पाएको थियो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान गरिएको भद्र सहमतिअनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मा गण्डकी प्रदेशलाई दिइएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए । बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले २०७७ फागुन २० देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज रंगशालामा आयोजित समापन कार्यक्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय प्रतियोगिता खेलकुदका लागि महोत्सव भएको बताउँदै यसले हजारौं खेलाडीको भविष्य निर्धारण गर्ने बताए । उनले आठौंको समापन नै नवौं राष्ट्रिय खेलकुदको तयारी भएकाले यसमा जुट्न सबैलाई आग्रह गरे । ‘आठौंको समापन नवौं राष्ट्रिय खेलकुदको तयारी पनि हो’, उपराष्ट्रपति पुनले भने ‘यो तयारीमा जुट्न सबैलाई आग्रह गर्दछु ।’ उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि सन् २०१९ भित्रै सम्पन्न हुने आशा व्यक्त गरे । प्रतियोगिताको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ५ गते गरेकी थिइन् । प्रतियोगिताका केही खेलहरू भने चैत २७ गतेदेखि नै सुरु भएको थिए ।

प्रतियोगितामा समावेश ३५ खेलहरू प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा सञ्चालन भएका थिए । अधिकांश खेल बाँकेमा भए पनि भौतिक संरचनाका कारण आठौंअन्तर्गतका केही खेल प्रदेश ५ बाहिरका जिल्लामा पनि सञ्चालन गरिएको थियो । जसमध्ये स्क्वास ललितपुर, प्याराग्लाइडिङ र ट्रायथोलन कास्की र गल्फ काठमाडौंमा भएका थिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिने निर्णय गरिएको छ । यस्तै नयाँ कीर्तिमान बनाउने खेलाडीले भने २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो पुरस्कार केही समयपछि खेलाडीको खातामै पठाइने भएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहेको थियो । जसमा दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला खेलाडी रहेका थिए । सबै खेलका ६ सय ४० प्रशिक्षक र चार सय ६१ व्यवस्थापक सहभागी भएका थिए ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *