आज हरितालिका तीज पर्व मनाइँदै

Sharing is caring!

भाद्र ५, २०७७ । महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । हिन्दू महिलाहरु आज विशेष गरी भगवान् शिव र पार्वतीलाई पूजा आराधनगरी गर्ने गरिन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव र पार्वतीको पूजा, उपासना गरेमा सुख र शान्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर भगवान महादेव पति पाउने वरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भगवान महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

आज शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । तर,यसपाली कोरोना महामारीले गर्दा आफ्नै परिवारका सदस्यहरुसँगै घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेकाले यस वर्ष तीजको रमझम र चहलपहल देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *