आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ : युवराज ज्ञवाली

Sharing is caring!

साउन २८, २०७९ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मंरि ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमालेको जनतामा ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्याउने दाबी गरेका हुन् । उनले भने,‘यो चुनावमा एमालेले एक्लै विजय प्राप्त गर्नेगरि तयारी गरेको छ । एमालेको जनप्रभाव जुन छ, पाँच दलीय गठबन्धनका साथीहरु नै यसबारेमा सबैभन्दा बढि सचेत छन् । कांग्रेसले त एक्लै एमालेलाई पराजय गर्न सकिँदैन भनेर निश्कर्ष निकालेको छ । अहिले कांग्रेस चुनावको लागि अरु सहयोगीको खोजी गरिरहेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत प्राप्त गरेको छ । जनमतको हिसाबले एमाले अहिलेपनि ठूलो दल हो । एमालेको नीति, सिद्धान्त, विचार र एमाले सरकारले गरेका कामहरुले एमलो विजयी हुने बलियो आधार छ ।’

ज्ञवालीले नेपाली जनता अहिले कतिवेला चुनाव हुन्छ र एमालेलाई मतदान गरौंला भनेर पर्खिएर बसेको टिप्पणी गरे । उनले भने,‘जनता अहिले एमालेलाई मतदान गर्नको लागि प्रतिक्षा गरेर बसेका छन् । अहिलेको सरकारको कामबाट जनता वाक्कदिक्क भएका छन् । कांग्रेससँगै अहिलेको गठबन्धनलाई विदाई गर्ने तयारीमा जनता जुटेका छन् । हामी आफ्नो खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा लागेका छौं । हामी एक्लै बहुमत ल्याउँछौं ।’

उनले आफ्नो पार्टी अहिले चुनावको तयारीमा जुटिसकेको पनि बताए । उनले भने,‘हाम्रो सचिवालयको बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनको तयारीको सन्दर्भमा महत्वपूर्ण निर्णय पनि गरेको छ । यतिवेला नेपालको राजनीतिमा एमाले सबभन्दा ठूलो दल, कम्युनिष्ट आन्दोलनको मात्रै होईन, नेपालको लोकतान्त्रिक आन्दोलनको लागि पनि सबभन्दा ठूलो दलको रुपमा रहेको छ । अहिलेसम्म एमालेको जति वटा सरकार बने, मनमोहनदेखि हाम्रो अध्यक्ष केपी ओलीको पालासम्म, ती सरकारले नेपाली जनता र राष्ट्रको लागि महत्वपूर्ण काम गरेका थिए । एमालेको सरकारलाई अदालतको निर्णयबाट अपदस्त गरियो ।’


उनले एमाले सरकारको पालामा भएका काम र अहिले पाँच दलीय गठबन्धनको सरकारको बेलामा भएको काम जनताले सुक्ष्म रुपमा हेरिरहेको बताए । उनले भने,‘जनता सबै कुरामा सचेत छन् । आगामी निर्वाचनमा जनताले एमालेलाई बहुमत दिने निश्चित छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *