अब ठगले कुनै हालतमा छुट पाउदैन : प्रभु साह
फागुन २४, २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले ठगहरुले कुनै पनि हालतमा छुट नपाउने बताएका छन् ।
रौतहटको गरुडा नगरपालिका–५, शिवनगरमा शनिबार आयोजित विकासका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले जताततै जनता ठग्नेहरुको बिगबिगी भएको भन्दै त्यसबाट समाजलाई मुक्त बनाउनुको विकल्प नभएको बताए ।
शिवनगर मन्दिर निजीकरण गरिनु ठगीको उत्कर्ष भएको भन्दै अध्यक्ष साहले भने, ‘म तपाईहरुको बीचमा केही प्रश्न राख्न चाहन्छु त्यसमाथि विचार गर्नुहोला । यदि शिवनगर मन्दिरको जग्गा पुजारीको निजी जग्गा हो भने त्यसमा बजार लगाउन मिल्छ ? बजार लगाउन अनुमति लिनुपर्छ कि पर्दैन ? यदि शिवनगर मन्दिर निजी जगा हो भने यसरी मेला लगाउन मिल्छ ? यदि मन्दिर निजी हो भने व्यक्तिको सम्पतिको नाममा दान दक्षिणा लिन मिल्छ ? अनि त्यसरी भइरहँदा राज्यले टुलुटुलु हेर्ने हो र ? यो सरासर ठगी हो ।’
‘कानुनले मठ मन्दिर लगायतको ठाउँलाई सार्वजनिक सम्पत्ति मानेको छ । र यहाँ जुन किसिमको काम भएको हो, यो ठगीको पराकाष्ठा हो । यस्ता ठगी कुनै पनि हालत क्षम्य हुँदैन । अब कसैलाई पनि ठगी गर्ने छुट छैन’ अध्यक्ष साहले भने, ‘सार्वजनिक सम्पतिलाई निजी बनाउने जस्ता काम गर्ने ठगहरुलाई कानुनी दायरामा ल्याउनैपर्छ, यसका लागि पहिला तपाईहरु नै लाग्नुपर्छ, बाँकी लडाई हामी लडछौँ ।’
प्रदेश सांसद कुन्दन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री सत्यनारायण मण्डल, नेताहरु सियाराम कुशवाहा, त्रिभुवन साह, योगेन्द्र साह लगायतको बिशेष सहभागिता रहेको थियो ।