सरकारले सबै देशसँग एउटै मापदण्ड अपनाउनु पर्छ : डा. महत

Sharing is caring!

भदौ १९, २०७८ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन् । उनले भने,‘एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड राख्नुहुँदैन् । त्यसो गरियो धेरै अप्ठ्यारो पर्छ । हामीले विदेश नीति अवलम्बन गर्दा फरक–फरक मापदण्ड अपनाउनुहुँदैन् । यदि अपनाईयो भने अविश्वास बढ्छ । चियोचर्चा बढ्छ । हामीले आफ्नो आवश्यकत्ता र स्वार्थलाई केन्द्रमा राख्नुपर्छ । आफ्नो कुरा भन्दापनि उनीहरुको कुरा बुझेर परराष्ट्र नीति सञ्चालन गर्नुहुँदैन् । यो सरकारले विश्वासको आधारमा दुई देशबीच सम्बन्ध अघि बढाएको छ ।’

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्र्ममा बोल्दै नेता महतले आफूहरु कसैको लहैलहैमा नलाग्ने पनि बताए । उनले भने,‘हिजोको सरकार कसैको लहैलहैमा लागे होलान्, तर हामी लाग्दैनोैं । हामी नेपालको चाहे सीमाको कुरा आउँछ, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वार्थ र आवश्यकत्ताको कुरा आउँछ, चाहे चीन होस वा भारत होस, लिम्पियाधुराको सवालमा पनि हामीले एक स्वरमा भन्यौं । हुम्लाको विषयमा प्रश्न उठेको छ । तुईन प्रकरणमा छानबिन गर्दा समस्या नहुने, अनि हुम्लामा के छ भनेर हेर्दा, के को आपत्ति ? समस्या रहेनछ भने ठिकै हो नि । अतिक्रमण देखियो भने संयुक्त रुपमा हल गर्नुपर्छ । अध्ययन गर्दैमा र छानबिन गर्दैमा सम्बन्ध बिग्रिँदैन् । छानबिन पनि हुन्छ । आफ्नो पक्षबाट कमजोरी देखियो भने त्यो कुरा पनि उठाउनुपर्छ ।’

महतले नेपालले छिमेकी र अन्य मित्रराष्ट्रसँग एउटै मापदण्ड अपनाउनुपर्नेमा पूनः जोड दिए । उनले नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको सुनाए । उनले भने,‘भारत होस वा चीन होस, हाम्रो परराष्ट्र नीतिको मूल मन्त्र भनेको नेपालको स्वार्थ र हितको संरक्षण गर्ने हो, हाम्रो स्वार्थ र आवश्यकत्तालाई केन्द्रविन्दुमा राखेर विदेश नीति हुन्छ ।’
उनले देशको सुरक्षा र राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैं सजग रहेको सुनाए । ‘हामी जनताको बीचमा गएर उत्ताउलो नारा लगाउँदैनौं’,उनले भने–‘हामी आफ्नो कुरा निर्धक्कसँग राख्छौं । दार्चुलाको तुईन घट्नाको बारेमा छानबिन समिति बनायौं । समितिले रिपोर्ट ल्यायो । त्यसको आधारमा परराष्ट्र मन्त्रालयलाई लेखेर दिएको छ । मन्त्रालयले मित्रराष्ट्रसँग मौखिक रुपमा कन्भे गरिसकेको छ । मैले बुझेअनुसार औपचारिक रुपमा पत्राचार हुँदैछ । हेलिकप्टर उडाइरहेको कुरामा पनि हामीले यकिन हुनुपर्छ । पूर्ण जानकारी लिएपछि त्यसको आधारमा उठान गर्नुपर्ने विषय भए सरकारले उठान गर्छ ।’

त्यस्तै, उनले चीनसँगको सीमा विवादबारे अध्ययन समिति बनाईएको बताउँदै भने,‘चीनसँगको सिमाको कुरा गर्दा हुम्लामा पहिलेदेखि नै समस्या छ भनेर भनिएको छ, अतिक्रमण भएको कुरा निर्वाचित प्रतिनिधिले भनेका छन् । पहिलेको सरकारकै पालामा यो विषय उठेको हो । अहिलेको सरकारको पालामा पनि उठेको छ । अहिले मन्त्रिपरिषदले छानबिन समिति बनाएको छ । समितिले जे निश्कर्ष निकाल्छ, त्यही हुन्छ । मिचिएको कुरा देखिए नेपाल सरकारले आफ्नो कुरा उठाउँछ ।’ उनले भारत होस वा चीन होस जायज विषयलाई मित्रराष्ट्रले सुन्नुपर्ने बताएका छन् ।

उनले एमसीसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउनेपनि विश्वास दिलाए । उनले भने,‘एमसीसी अनुदानमा आएको कार्यक्रम हो । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । सैन्य प्रयोजनमा यो पैसा प्रयोग गर्न पाईँदैन् । कतिपय विषय यो छ कि उ छ कि भनेर कुरा उठेको छ । यसको बारेमा पनि स्पष्ट पार्न सरकारले पहल गरिरहेको छ । एमसीसीबारे अस्पष्ट भएका कुरा, पब्लिकमा भएका अस्पष्ट र जिज्ञासा, आशंका छ, प्रचार धेरै कुरा भएका छन् । त्यो विषयमा अमेरिकी सरकारले क्लारिफाई गर्ला । आशंका निराकरण हुनेछ । यो प्रक्रिया अघि बढ्छ ।’
त्यस्तै, डा. महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् । उनले भने,‘अब मन्त्रिपरिषद् चाँडो विस्तार हुनुपर्छ । सरकार गठन भएको लामो समय भैसकेको छ । विभिन्न घटक र पार्टी जोडेर सरकार बनाउनुपरेको छ । घटक दलले समयमा नामावाली नदिँदा, खासगरी माधवजीलाई पार्टी बनाउन लामो समय लाग्यो । जसपाबाट पनि नाम आउन ढिला भयो । तर, अब लम्ब्याउनुहुँदैन् । कांग्रेसमा मन्त्री बनाउने बारेमा कुनै समस्या छैन् । हामी त मन्त्री बन्ने साथीहरुको नाम टुँगो लगाएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *