सरकारलाई पूर्णता दिन नसकेको आवाज उठ्नु स्वभाविक : रमेश लेखक

Sharing is caring!

असोज ११, २०७८ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वभाविक भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्र्ममा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब एक-दुई दिनभित्रै सरकारले पूर्णता पाईसक्ने उनको दाबी छ ।

उनले भने,‘आज सरकार बनेको दुई महिनाभन्दा बढि भैसकेको छ, तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार भएन ? भनेर जनस्तरबाट आलोचना भैरहेको छ, बास्तवमा सरकारलाई पूर्णता नदिएको भनेर यो आलोचनाको विषय बनेको छ । ढिलो पक्कै पनि भएको हो । अहिले गठबन्धनको सरकार छ । गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहर छन्, उनीहरुलाई संलग्न गराएर सरकार बनाउनुपर्नेछ । राजनीतिक र वैधानिक कारणले सरकारलाई पूर्णता दिने कुरामा ढिलाई भएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सबै दलका मुख्य नेताका बीचमा सम्वाद भैरहेको छ । विचार विमर्श भैरहेको छ । अब चाँडै हुन्छ ।’

लेखकले सरकार गठन भएको सय दिनसम्म सरकारका बारेमा खासै टिप्पणी नगर्ने प्रचलन रहेको सुनाए । ‘प्रम निर्वाचित भएको सय दिनसम्म टिप्पणी गरि नहाल्ने चलन छ’,उनले भने–‘टिप्पणी गर्नु त्यति वाञ्छनीय हुँदैन् । यो सरकार गठन भैसकेपछि सरकार कसरी अघि बढिरहेको छ ? भन्नु भन्दापनि पहिले, यो सरकार मुलुकको विशेष राजनीतिक परिस्थितिमा गठन भएको हो । कांग्रेसले सरकारको नेतृत्व मुलुकको विशेष परिस्थितिमा लिएको छ ।’

उनले गत निर्वाचनमा जनताले नेकपालाई दुई तिहाई बहुमत दिएर सरकारमा पठाएको र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको स्मरण गराए । तर, पछिल्लो तीन वर्षमा नेकपाले ठीक ढंगले सरकार नचलाएको उनको भनाई छ । उनले भने,‘बरु, यो तीन वर्षमा नेकपाको सरकारबाट संविधान कुल्चिने काम भयो । प्रकरान्तरले नेकपा तीन टुक्रा भयो । कांग्रेसले बाध्यताले सरकारको नेतृत्व ग्रहण गरेको हो । हामीले बडो सहज अवस्थामा सरकारको नेतृत्व लिएको होईन् । सरकार गठन भैसकेपछि गठबन्धनमा रहेका दलहरुले न्यूनतम साझा कार्यक्रम घोषणा गर्यौं । त्यसमा सरकारले के–के काम गर्ने प्राथमिकता भनेर पहिचान गर्ने काम भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *