विकासको नाममा ३२ करोड स्वाहा

Sharing is caring!

असार २०, २०७७ । सहरी विकास मन्त्रालयबाट रौतहटको गरुडा नगरपालिका वार्ड न. ५ को शिवनगर आसपास मात्र ३२ करोडको सड़क ढलान भईरहेको छ ।

रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले सहरी विकास मन्त्री हुँदा सिंगै नगरलाई छोड़ेर आफ्नो क्षेत्रमा पर्ने एउटा सानो टोलको लागि ३२ करोड रकम विनियोजन गरेर शक्तिको गलत अभ्यास गरेको गरुडा नगरपालिकाका स्थानीयले आरोप लगाएका छन् ।

सांसद साहको क्षेत्रमा पर्ने गरुडा नगरपालिकाको वडा नम्बर ५ मा चार वटा टोल छन्, जसमध्येको एउटा सानो टोल शिवनगरमा मात्र ३२ करोडको काम भईरहेको छ जसमध्ये १६ करोडको सडक ढलान मात्र हुँदैछ ।

रौतहटकै ठुला नगरपालिका मध्येको एक रहेको गरुडा नगरपालिकाको केन्द्र रहेको गरुडा बजारलाई ध्यान नदिएर आफ्नो क्षेत्रको त्यही वडामा पर्ने महम्मदपुर, लक्ष्मीपुरजस्तो ठूलो टोल हुँदाहुँदै पनि एउटा सानो टोल शिवनगरमा त्यति धेरै बजेट विनियोजन गरेको र गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ ।

स्थानीय चन्देश्वर यादवले सांसद प्रभु साहले विकासप्रेमी नेताको रुपमा स्थापित भए पनि पदीय शक्तिको दुरुपयोग गरेर पक्षपाती काम गरेको आरोप लगाए । उनले सांसद साह मन्त्री हुँदा सिंगो नगरलाई छोडेर शिवनगरमा मात्र धेरै बजेट दिएकोमा असन्तुष्टि जनाए ।

सहरी विकास डिभिजन कार्यालयलाई सोध्दा विनियोजित बजेटमध्ये १६ करोडको सडक ढलानको ठेक्का ढुकुचु कन्स्ट्रक्सनले पाएको जनाएको छ । डिभिजनका इन्जिनियर कमल खतिवडाले १० किलोमिटर सडक ढलानको लागि उक्त ठेक्कामा दिइएको बताए ।

एक करोडमा एक किलोमिटर सडक ढलान हुन सक्ने भए पनि डेढ गुना बढी रकमको ठेक्का हुंदा पनि गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाएका छन् । इन्जिनियर खतिवडाले भने केही राजनीतिक विवाद भएको स्थान बाहेकको ठाउँमा भने काम ठिकै भएको स्पष्टीकरण दिए ।

एउटा सानो टोलमा किन त्यति बजेट पठाएको भनेर सांसद साहका स्वकिय सचिव विजय यादवलाई प्रश्न गर्दा उनले शिवनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न बढी बजेट दिइएको बताए ।

‘शिवनगर रौतहटमा मात्र नभएर सिंगो देशका साथै भारतमा समेत चर्चामा रहेको धार्मिक स्थल हो । तर पूर्वाधार अभावका कारण यो मन्दिरमा पर्यटक भित्रयाउँने सपना अधुरा थियो । तर उहाँ ( प्रभु साह) सहरी विकास मन्त्री हुँदा यस ठाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उद्देश्यले बजेट राख्नुभएको थियो’ यादवले भने, ‘यो विभेद होइन, पर्यटन विकासलाई टेवा पुर्याउने दिशामा कयौं कदम अगाडि बढेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *