भोलिबाट संसद्, ४ विधेयक दर्ता

Sharing is caring!

पुस १०, २०७५ । संघीय संसदको हिउँदे अधिवेशनका लागि सरकारका तर्फबाट चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता भएका छन् । संसदको तेस्रो अधिवेशन बुधबारदेखि सुरु हुँदै छ ।

सचिवालयका अनुसार कर्मचारी समायोजन अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पारमाणविक तथा रेडियोधर्मी पदार्थ सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न विधेयक दर्ता भएका छन् ।

संसदका महासचिव मनोहर भट्टराईले बैठक सञ्चालनका लागि आवश्यक भौतिक तथा अन्य तयारी पूरा भइसकेको बताए । ‘केही विधेयक पहिलेदेखि प्रक्रियामा छन्, केही नयाँ दर्ता भएका छन्,’ उनले भने, ‘संसद् सुरु भएपछि सरकारका तर्फबाट थप विधेयक आउने विश्वास लिएका छौं । संसद्लाई कामको समस्या हुन्न ।’

पहिलो दिन अपराह्न ४ बजे बस्ने बैठकका लागि प्रतिनिधिसभाको कार्यसूचीमा अधिवेशन आहवानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा सुनाउने, प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गर्ने तीनवटा विषय छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले हिउँदे अधिवेशनमा संसद्ले पर्याप्त बिजनेस पाउने बताए । संसद्मा विचाराधीन ११ वटा विधेयक रहेको, चारवटा नयाँ दर्ता भइसकेको भन्दै उनले संसद् सञ्चालनमा आएको पहिलो सातामै थप विधेयक दर्ता हुने जानकारी दिए ।

संविधानसँग बाझिएका कानुन आगामी फागुन २१ गतेबाट अमान्य हुने संवैधानिक व्यवस्थाका कारण सरकारले धेरै कानुनमा संशोधनको गृहकार्य गरिरहेको छ । संविधानको धारा ३०४ ले संविधानसँग बाझिएको कानुन संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षपछि बाझिएको हदसम्म स्वत: अमान्य हुने भनेको छ ।

संविधानको त्यस व्यवस्थाका कारण अहिले कायम रहेका कानुनलाई संविधान र संघीय संरचनाअनुरूप संशोधन गर्नुपर्ने बाध्यकारी अवस्था छ । संविधानकै बाध्यकारी व्यवस्था कारण संसदको अघिल्लो अधिवेशन मौलिक हकसम्बन्धी कानुन निर्माणमा व्यस्त भएको थियो । संविधानसहित विद्यमान ३ सय ३९ वटा कानुनमध्ये १ सय ७४ वटालाई संविधानअनुकूल बनाउन संशोधनगर्नुपर्ने छ ।

कानुन मन्त्रालयका प्रवक्ता धनराज ज्ञवालीले विभिन्न ५६ वटा ऐन संशोधनसहितको केही नेपाल ऐन संशोधन विधेयक संसद्मा दर्ता भइसकेको तथा १ सय ८ वटा ऐन संशोधनको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको बताए ।

विभिन्न मन्त्रालयले तयार पारेको १७ वटा विधेयकको मस्यौदालाई मन्त्रालयले सहमति दिएर पठाइसकेकाले ती विधेयक पनि संसद्मा पेस हुने तयारीमा रहेको उनले उल्लेख गरे ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *