पार्टीमा रुपान्तरणको अभियान सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने : धनराज गुरुङ

Sharing is caring!

पुस २, २०७८ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले अब पार्टीमा रुपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने बताएका छन् । उनले भने,‘हामीले रुपान्तरणको आवाज उठाउँदै आएका थियौं, यो आवाजलाई महाधिवेशन प्रतिनिधिहरुले सुनिदिनुभयो, अब कामले सावित गर्नुपर्ने बेला आएको छ । रुपान्तरणको कुरा शब्दजालमात्रै थियो भन्ने परिस्थिति बन्यो भने हामी नालायक बन्छौं । पार्टीभित्रको पहिलो रुपान्तरण हुनुपर्छ भनेर महाधिवेशनको मैदानमा यो नारा घन्काएर लिएका थियौं । हामीले रुपान्तरण र परिवर्तनको पक्षमा मत माग्यौं । हामी विजयी पनि भयौं । रुपान्तरणको अभियान हामीले सभापतिबाट सुरु गर्छौं ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिन आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘शेरबहादुर देउवाजीले हिजो एक कार्यकाल बिताउनुभयो । अब दोस्रो कार्यकालको यात्रा प्रारम्भ भएको छ । क्रिकेटमा टेस्ट म्याच हुन्छ, एउटै ब्याट्सम्यानले पहिलो र दोस्रो ईनिङ्स ब्याटिङ गर्नुहुन्छ । टेष्ट म्याचमा पनि पहिलो इनिङ्स्मा डकआउट हुनेले दोस्रोमा सेन्चुरी हान्ने गरेको छ । अहिले सभापतिमा देउवाको दोस्रो ईनिङ्स सुरु भयो । हामी पनि ब्याट्सम्यान छौं। अब उहाँले सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्नुहुन्छ, हामी उहाँलाई यो ठाउँमा पुर्याउँछौं । विधि र विधानबमोजिम चल्ने पार्टी बनाउँछौं। हिजो हामीले विधि र विधान मिच्यौं, २ महिनाभित्र विभाग गठन गर्ने कुरा विधानमा लेखिएको छ । तर, पाँच वर्ष पुग्दा पनि विभाग गठनको लागि पत्राचार भैरहेको छ। हामी विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा छौं ।’

साक्षात्कारमा बोल्दै गुरुङले आफुहरुपनि अब अग्निपरीक्षामा रहेको सुनाए । ‘हामी अग्निपरीक्षामा छौं, रुपान्तरण भनेको पद्धतीअनुसार चल्ने पार्टी बनाउँछौं । विधि र पद्धती स्थापित गर्ने पक्षले भागबण्डा खोज्दैन्’–उनले भने‘यो महाधिवेशनमा हाम्रो विचार समूहले ४० प्रतिशत मत पायो । हाम्रो प्यानलले लोकप्रिय मत पायो । भागबण्डामा हात थाप्न थाल्यौं भने हामी पनि पूरातनवादी भैहाल्छौं । महािधेवशनको दौरान चुनावी मैदानमा प्यानल बन्यो । अर्को समूहले ६० प्रतिशत मत पायो र हाम्रो समूहले ४० मत पायो । म ४० प्रतिशतको मात्रै उपसभापति होईन । सभापति देउवा पनि पनि ६० प्रतिशतको पनि होईन । सबैको सभापति हो । हामी पनि सबैको हो । पार्टीमा भागबण्डा हुँदैन् ।’
जनजनसम्म कांग्रेसलाई कसरी पुर्याउनुहुन्छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले राम्रो काम गरेर अघि बढ्ने बताए । गुरुङले भने–‘जनजनको मनमनमा बस्ने कांग्रेस बनाउनको लागि, जनतासँग जोड्ने कुरा के–के हुन ? यो नियाँलेर जानुपर्छ । कुशासनले जनता वाक्क दिक्क भएका छन् ।

नेपालको राजनीति विकृति र विसंगतिको थलो बनेको छ। नेताहरुको नाम ठूलो–ठूलो भ्रष्टाचारको काण्डमा जोडिएको छ । अरबौंको भ्रष्टाचारमा । भ्रष्टाचारका फाईल अख्तियारको दराजमा छन्, त्यहाँ तोड्न सक्नुपर्छ । अब भन्नेमात्रै होईन, गर्ने ठाउँमा हामी पुगेका छौं । पार्टीलाई जनतासँग जोड्ने कुरा छन्, यसमा जनताले दुःख पाएको ठाउँमा हित गर्ने हो । भ्रष्टाचार भनेको कुशासन हो। अहिले सुशासन प्राप्त भएको छैन् । अब हाम्रो रोडम्याप सुशासनबाट सुरु हुन्छ । अलमलिने नेताले गन्तव्य प्राप्त गर्न सक्दैन् । हाम्रासामू पनि अवसर र चूनौति दुवै छन् । चूनौतिलाई म अवसरमा बदल्ने साहस लिएर आएको हुँ । जनताको बीचमा कांग्रेसलाई लोकप्रिय बनाउनको लागि काम गर्नुपर्छ । ३७ प्रतिशतको कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउने हो । हामीसँग कार्यक्रम छ। हामी यो लागु गर्छौं ।’

उनले मुलकमा राजनीति व्यवस्था बदलिएको भएपनि जनताको अवस्था त्यस्तै रहेको सुनाए । उनले मुलुकमा विकृति र विसंगति कुरुप रुपमा झाँगिएको पनि सुनाए । उनले भने,‘यसलाई अन्त्य गर्नुपर्छ । यदि यो लागु गरिएन भने महाधिवेशन प्रतिनिधिहकरुले दिएको मत र जिम्मेवारी बोक्न नसकेको ठहरिन्छ ।’

गुरुङले नवनिर्वाचित समिति आउन लागेको उल्लेख गर्दै सरकार पनि नयाँ ढंगले चल्न आवश्यक रहेको सुनाए । उनले भने–‘यो सरकार त संविधान जोगाउने क्रममा बाई–प्रोडक्ट हो । यो संयुक्त सरकारलाई हाम्रो पार्टीबाट के सहयोग गर्नुपर्छ ? त्यो हामी गर्छौं । सरकारले घिनलाग्दो र नराम्रो काम नगरिदिए हुन्छ । अहिलेसम्म जुन जोगी आएपनि कानै चिरेको भन्ने भैरहेको छ । ओलीजी प्रधानमन्त्री हुँदा संसद्को ढोका बन्द गरेर अध्यादेशमार्फत देश चलाउनु भयो । हाम्रो सभापति देउवा प्रधानमन्त्री भएपछि पनि संसद्को ढोका बन्द गरेर देश चलाउन खोज्नुभयो । हामीले विरोध गरेको हो । हिजोको सरकार र आजको सरकार उस्तैउस्तै पदचापमा अघि बढ्ने हो भने त्यो परिवर्तन होईन । हामी कांग्रेसको नेतृत्वमा आईसकेको अवस्था छ । सरकार अब सजग हुनुपर्छ । लोतेपोतेबाट चल्नुहुँदैन् । सरकारले नयाँ ढंगबाट चल्न आवश्यक छ।’

देउवा प्रधानमन्त्री हुँदा आफूहरु विचारको समूहको रुपमा बधाई दिन गएको स्मरण गराउँदै त्यतिवेला पनि प्रधानमन्त्रीको रुपमा पाँचौं कार्यकालमा स्मरणयोग्य काम होस भनेर भनेको सुनाए । उनले भने–‘यहाँको चार कार्यकाल स्मरणयोग्य भएन । अब पाँचौ कार्यकाल वाह देउवा बनाउनुहोस । खोपसँगैसँगै भ्रष्टाचारको काण्डहरु एक÷दुई वटा फाईल खोल्न निर्देशन दिनुहोस भनें । तर, अहिलेसम्म भ्रष्टाचारको फाईल खोलेको कुरा सुन्न पाईनँ । भ्रष्टाचारको फाईल खोल्ने हो भने क्यान्टोनमेन्टबाट खोल्नुपर्यो भन्ने कुरा आयो । सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै हो । अब छुट यो सरकारलाई हुनेछैन् । देखावटी काम गर्ने होईन । सारमा काम गर्न आवश्यक छ। हामी सरकारलाई सकारात्मक सुझाव दिन्छौं । सरकारलाई पनि मोडालिटी चेन्ज गरेर अघि बढ्नुहोस भन्ने आग्रह हुन्छ।’

उनले निर्वाचन अग्निपरीक्षा भएको बताउँदै अबको निर्वाचन कांग्रेस एक्लैले लड्ने पनि बताए । उनले भने–‘हिजो कांग्रेसले क–कसको बैशाखी टेक्यो, त्यो ईतिहास हो । तर अब कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन् । एक्लै चुनाव लड्छ। चुनावी मैदानमा पुगेर ५१ प्रतिशत पुर्याउन चाहन्छौं । बैशाखी टेकेर सवल खुट्टा टेकेको पार्टीसँग लड्न सकिँदैन् । हाम्रो दुवै खुट्टा सवल छन् । यो भुल अब हुँदैन् । विगतमा भयो होला । विगतमा कांग्रेसीहरुले रुँदै अर्को चुनाव चिन्हमा भोट हाले होलान् । हामी अब प्रतिवाद गर्छौं । हामी विधि, विधान, सिद्धान्त र आर्दशबमोजिम नेपाली कांग्रेसलाई हाँक्छौं, यसैगरि पार्टी जनताको पक्षमा पुग्छ । हाम्रो कार्यक्रम लिएर चुनाव जित्छौं ।’

उनले जनताको बीचमा व्यक्तिको अनुहार लिएर जाने भन्दा पनि विचार र सिद्धान्त लिएर जाने बताए । उनले भने,‘विचार समूह र प्यानल त निर्वाचनको मैदानमा थियो । अब सबैलाई गोलबन्द गरेर अघि बढ्ने हो । डा. मिनेन्द्र रिजालले नैतिकताको रुपमा राजीनामा दिनुभयो । राम्रो गर्नुभयो। उच्च नैतिकताको आधारमा राजीनामा गरेको हो।’ उनले पार्टीभित्र अब सत्ता र प्रतिपक्ष नरहेको पनि जिकिर गरे । उनले भने,‘हामी खेलको मैदानबाट बाहिरियौं । देउवा सबैको सभापति हो । धनराज, विश्वप्रकाश र गगन थापा पनि सबैको हो।’

उनले प्रकाशमानजी त्यागको प्रतिमुर्ती गणेशमान सिंहको सुपुत्र भएको उल्लेख गर्दै उनले भने,‘प्रकाशमानजी गणेशमानजीको पुत्र हो, उहाँको त राजनीतिक संस्कारको पाठशालको घर नै थियो नि । मेरो बाल्यकालको कुरा गर्दा म त गोवर सोहोरेर आएको हुँ । प्रकाशमानजीलाई सानैदेखि राजनीतिक संस्कारको पाठशालको घर नै बन्यो । त्यो पाठशालामा हुर्किएको व्यक्तिलाई । अहिले म केही भन्न चाहन्नँ ।’ उनले नवनिर्वाचत सभापति देउवालाई आफूहरुजस्तै बनाएर अघि बढाउने र रुपान्तरण गर्ने पनि विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *