निर्वाचन गर्न अहिलेपनि शंकाको घेरामा छ : नेता कर्ण

Sharing is caring!

माघ १६, २०७८ । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले सत्तापक्षले जेठभित्रै निर्वाचन गर्ने भनेर घोषणा गरेको भएपनि अहिल्यै नै यसलाई पत्याउने वा विश्वास गर्ने आधार भने बनिनसकेको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,“सरकारले चुनाव धेरैपछि भएपनि गराउन खोजेको छ, जेठभित्र निर्वाचन गर्ने भनेर भनिएको छ, यो एउटा सुखद् पक्ष हो । तर, अहिलेसम्म निर्वाचनको मिति घोषणा भएको छैन् । निर्वाचनको मिति त मन्त्रिपरिषद्ले निर्णय गरेर घोषणा गर्नुपर्छ । मन्त्रिपरिषद्ले निर्वाचनको मितिबारे निर्णय नगरेसम्म यो पक्का हो भन्न मिल्दैन् । दुई-चार दिन अझै हेर्नुपर्छ । यो सरकारले निर्वाचन गर्न चाहन्छ कि चाहँदैन भन्ने कुरा अहिलेपनि शंकाको घेरामा छ ।”

नेता कर्णले संविधान र कानूनको कुरा गर्दा पनि केही पनि नबाझिएको जिकिर गरे । उनले संविधानले स्थानीय तहको निर्वाचनको सवालमा जनप्रतिनिधिहरुको पदावधि पाँच वर्षको हुनेछ भनेर प्रष्ट रुपमा भनेको उल्लेख गरे । उनले जनसंख्याको आधारमा स्थानीयत तह निर्धारण नहुँदा र तत्कालिन राजपाले विरोध गर्दा नै स्थानीय तहको निर्वाचन चरणबद्ध रुपमा भएको स्मरण गराए ।

उनका अनुसार मधेश प्रदेशमा तेस्रो चरणमा निर्वाचन भएको थियो । उनले भने,“निर्वाचन गर्ने बेलामा नै थाहा थियो, यो पटक–पटक हुन्छ भनेर, कुन पटकलाई मान्यता दिने भन्ने कुरा पहिले नै थाहा थियो । बैशाखमा भएको निर्वाचनलाई आधार मान्ने हो नि, प्रथम चरणको निर्वाचनलाई मानिकन चुनाव गर्ने हो । यसलाई नै मान्नुपर्छ । यसो गर्दा अप्ठ्यारो पर्दैन् । चुनाव नगराउनेहरुले संविधान बाझियो भने, ऐन संशोधनको कुरा गरे ।”

उनले जनदबाब बढेपछि सत्तापक्षले बाध्य भएर निर्वाचन गर्ने घोषणा गरेको पनि टिप्पणी गरे । उनले आवद्यिक निर्वाचन भनेको लोकतन्त्रको आधार भएको उल्लेख गरे ।

उनले भने,“जनप्रतिनिधिहरुद्धारा नै शासन हुने हो । स्थानीय तह पनि सरकार हो । संविधानले नै तीन वटा सरकारको कल्पना गरेको छ। संघीय, प्रादेशिक र स्थानीय सरकार । तीनै वटा सरकारलाई ठाउँमा ल्याउनको लागि निर्वाचनबाहेक अन्य कुनै बाटो छैन् । सत्तापक्षले निर्वाचन हुने कुरा गरेको छ। यो स्वागतयोग्य र सकारात्मक हो । बहानाबाजी गर्ने हो कि ? अझै कुर्नुपर्छ । चैत्रबाट बैशाख भन्दै अब जेठमा निर्वाचन गर्ने कुरा आएको छ । जेठमै गर्ने हो भने ठीकै छ । लामो ग्याप गर्नुहुँदैन् ।”

नेता कर्णले स्थानीय तहको निर्वाचनमा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा निर्वाचनको मिति घोषणा भएपछिमात्रै स्पष्ट हुने सुनाए । उने भने,“गठबन्धन गर्ने कि नगर्ने ? यसमा मैले भन्नु केही छैन् । उहाँहरुको पाँच दलीय गठबन्धन छ, निर्वाचनको मिति घोषणा भएपछि यसको गबठन्धनबारे थाहा हुन्छ । हामीले पाँच दलीय गबठन्धनसँग कुनै कुरा गरेका छैनौं । राष्ट्रियसभाको निर्वाचनमा पनि हामीले एमालेसँग गठबन्धन गरेर लडेका हौं । त्यो त्यहीँ समाप्त भयो । निर्वाचनको मिति घोषणा होस न पहिले ।” उनले उपेन्द्र यादव नेतृत्वको जसपासँग भने निर्वाचनमा गठबन्धन नहुने जिकिर गरे । उनले भने,“उपेन्द्र यादवसँग कसरी हाम्रो गठबन्धन हुन्छ ? भर्खरै त उपेन्द्रलाई छोडेर नयाँ पार्टी बनाएका छौं । कसरी गठबन्धन हुन्छ ?”

उनले सिके राउतको पार्टीको गतिविधिबारे पनि आफ्नो असन्तुष्टि पोखे । उनले भने,“हाम्रो खुट्टा तान्दैछ भनेर सोच हटाईदिनुहोस । यो राज्य नै राज्यविहीनको अवस्थामा छ । अहिले देश अस्तव्यस्त छ । सिटामोलको समेत व्यवस्था गर्न नसक्ने सरकारले, कोरोना महामारी कसरी अन्त्य गर्छ ? त्यसैको प्रतिफल हो सिके राउत । निर्वाचन हुन नदिनको लागि गाडी तोडफोड गर्ने, जनता सचेत छन् । हाम्रो पार्टी मधेशमा एक मात्रै यस्तो पार्टी हो, जसले मधेशी जनता, आदिवासी, पिछडिएकाको हकहितको लागि काम गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *