जनतालाई सरकारको अनुभुति भएन : लक्ष्मणलाल कर्ण

Sharing is caring!

असार १७, २०७७ । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले जनतालाई सरकारको अनुभुति भएन, हटाउने वा राख्ने नेकपाको आन्तरिक कुरा भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कर्णले नेकपाको सरकारलाई आफूहरुले संविधान संशोधन गर्ने शर्तमा सुरुमा समर्थन गरेको तर सहमति पालना नभएकोले समर्थन फिर्ता ल्याएको स्पष्ट पारे । आफूहरुसँग भएका र गरिएका सहमतिहरु आजसम्म पूरा नभएको उनले गुनासो पोखे ।

नेता कर्णले वर्तमान सरकार समग्र क्षेत्रमा असफल भएको दाबी गरे । उनले भने, ‘जनतालाई यो सरकारप्रति कुनै अनुभुति छैन् । काठमाडौंमा दैनिक सरकारको विरोधमा प्रदर्शन भैरहेका छन् । राज्य सञ्चालनको विषयमा नेतृत्वमा बसेकाहरुले सोच्नुपर्छ कि पर्दैन् ।’ नेपाल र भारतबीच सिमा विवाद रहेको उल्लेख गर्दै यसको समाधानको लागि एउटामात्रै विकल्प वार्ता भनेर स्वयम प्रधानमन्त्री ओलीले संसदमा बोलेको कुरा पनि उनले स्मरण गराए ।

उनले भारत र चीन दुवैसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै सन्तुलित सम्बन्ध बिगारेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले संसदमा चीनबाट आएको भाईरस नरम र भारतबाट आएको भाइरस कडा भनेर भन्नुभयो । चीनबाट कोरोना भाइरस फैलिएको हो। उत्पत्ति भएको देशमा नै कोरोना भाइरस नरम र भारतको भाइरसको कडा भन्नुभयो । चीनबाटै यो भाईरस संसारभरि फैलिएको हो । प्रधानमन्त्रीजस्तो व्यक्तिले जे मनमा लाग्यो, त्यही बोलिदिने ? कि त्यसको वैज्ञानिक कारण हुनुपर्छ ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन थाल्यो भनेर दिएको अभिव्यक्तिप्रति उनले टिप्पणी गरे । उनले भने,‘उहाँको अभिव्यक्तिले सम्पूर्ण रुपमा पार्लियामेन्टको बेईज्जत भएको छ । अपमान हो । हाम्रो संविधानले प्रधानमन्त्रीको जन्म पार्लियामेन्टबाट हुन्छ भनेको छ । उहाँको जन्मपनि यही संसदले दिएको हो । यो संसदले नहटाईकन भारतले हटाईदिन्छ भनेर उहाँले बोलेर ठूलो अपमान गर्नुभयो । संसद निरीह छ भनेर बोल्न पाईन्छ ? संविधानमा त्यस्तो व्यवस्था छ ? हाम्रो संसद के बेकारको संसद हो ? यस किसिमको अभिव्यक्तिले के देखाउँछ के भारतसँग वार्ता हुन्छ ? जग्गा फिर्ता लिन वार्ताबाहेक अन्य विकल्प छैन् । अन्य विकल्प छ भने देखाउनुपर्छ ।’

उनले आफूहरुलाई कागजको नक्सा भन्दापनि भारतले कब्जा गरेको जमिन जरुरी भएको आवश्यकत्ता औंल्याए । कर्णले भने,‘हामीलाई जमिनको आवश्यकत्ता छ । त्यसको लागि के गर्नुभयो त ? नक्सा आएपनि आजसम्म के भयो त ? भारतले वार्ता गर्न चाहेन । अनि किन राजदूत राख्नुभएछ ? फिर्ता गर्नुहोस् । किन परराष्ट्रमन्त्री चाहियो ? परराष्ट्र सम्बन्ध कायम गर्न नसक्ने कस्तो हो हाम्रो परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुत ? घरको मुली मान्छे नै हलुका हुनुभयो । देश हलुको भैहाल्छ ।’

भारतसँग सिमा विवाद समाधान गर्न सरकारले साईलेन्स डिप्लोमेसी अपनाउनुपर्नेपनि उनले सुझाए । उनले भने,‘भारतसँग वार्ता गर्नुपर्छ । गम्भिरतापूर्वक वार्ता सुरु गर्नुपर्छ । आज संसारमा हतियार प्रयोग गर्ने हाईन । बरु, वार्ताद्धारा समस्या समाधान गर्ने हो । र, नेपालको लागि यो वार्ता नितान्त आवश्यक छ । देशको प्रधानमन्त्रीले देशको जमिन फिर्ता ल्याउनुपर्छ । गोरखाको एउटा गाउँपालिकानै चीनमा गएको छ अरे, अनि परराष्ट्रमन्त्रीले आफू खुशी गएको भनेर भन्नुभएको छ । हाम्रो संविधान यस्तो व्यवस्था छ र ? कसैले म चीन वा भारत जान्छु भनेर जान पाईन्छ ? जनमतसंग्रह भयो ? आफ्नो सिमाको सुरक्षा गर्न नसक्ने किन सरकार चाहियो ? किन चाहियो प्रधानमन्त्री ? कुन आवश्यकत्ताबाट प्रधानमन्त्री राख्ने ? क्वारेन्टिनमा मान्छे मरे । बलात्कृत भए । आत्महत्या गरेर मानिस मरेका छन् । औषधी पाएका छैनन् । गाउँमा जाने बाटो नै छैन् । यो बजेट कस्तो रहेछ ? के यो समृद्धि हो ?’

वैवाहिक अंगीकृतको सम्बन्धमा रहेको आजसम्मको व्यवस्थालाई झिनो बहुमतको दम्भमा हटाईएको उनको गुनासो छ । उनले भने,‘समितिमा ११ र १५ को आधारबाट निकालियो, यस किसिमबाट राष्ट्रिय सहमति हुन्छ ? आज विरोध भैरहेको छ । संवैधानिक व्यवस्था र कानूनी व्यवस्थालाई कुल्चिएर नागरिकताको प्रावधानमा वैवाहिक अंगीकृतलाई किन ७ वर्षको सारियो । भारतमा पनि ७ वर्ष राखिएको छ, त्यही भएर राखेको भन्नेपनि सुनियो । बुहारीको चिन्ता गरियो भनेर भ्रम फैलाईयो । १९५० को सन्धि बदर गरोस न त । होईन भने यो प्रावधान लागु हुन्छ । सरकारको विरोधमा विरोध र प्रदर्शन भैरहेको छ । अनि प्रधानमन्त्री बसिरहन बस्न मिल्छ । बुहमत राखे बस्नुहुन्छ, नराखे हट्नुहुन्छ । हाम्रो औकात प्रधानमन्त्री बन्ने र बनाउने पनि छैन् । सोसल मिडियामा उहाँको विरोध भैरहेको छ । पार्टीभित्र सार्मथ्य भए उहाँलाई हटाउन सक्नुहुन्छ । ५१ कायम भएन भने उहाँ हट्नुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *