चुरे दोहन: व्यापार घाटा कम गर्ने नाममा तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र

Sharing is caring!

जेठ २०, २०७८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चुरे दोहन गरेर व्यापार घाटा कम गर्ने नाममा सरकारले तराई – मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र गरेको आरोप लगाएको छ ।

विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू-क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण भइरहेका बेला सरकारले त्यही बेचेर व्यापार घाटा कम गर्ने कुरा गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती नभएको बताएको छ ।

‘प्रकृति विरुद्धको अपराध र देशको तराई(मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो’, कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति सार्वजनिक भनेका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले ‘राष्ट्रपति चुरे(तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरिएको सम्झदै देउवाले सरकारको घोषणाप्रति आपत्ति जनाएका हुन् ।

‘निश्चयनै देशले बर्सौंदेखि व्यापार घाटा ब्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई-मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन’, देउवाले विज्ञप्तिमा थप भनेका छन् ।

कांग्रेसले यो निर्णय तत्काल फिर्ता गर्नसमेत सरकारलाई चेतावनी दिएको छ । ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नितिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा थप भनिएको छ । यो खबर अन्न्पूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *