‘चुईगम भर्सेस पराग’ रिले दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

Sharing is caring!

पुस २०, २०७६ । चर्चित लोक तथा दोहोरी गायक/गायिकाहरुको स्वर रहेको ‘चुईगम भर्सेस पराग’ बोलको गीत सार्वजनिक गरिएको छ । हिजो (शनिबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतलाई राष्ट्रिय सभाकी सदस्य तथा चर्चित गायिका कोमल वली र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

उक्त गीतमा लय तथा शब्द सिर्जना राजकुमार बानियाँको रहेको छ भने गीतको निर्माता भने रमेश धरेल हुन् । गीतमा प्रिती आले, राजकुमार बानियाँ, रविन लामिछाने र टिका सानुको स्वर रहेको छ । गीत जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेकी सांसद कोमल वलीले गीतका रचनाकार बानियाँलाई यो गीतले चर्चाको शिखरमा पुर्याउने विश्वास व्यक्त गरिन् । उनले भनिन्,‘उहाँ एक दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ, उहाँले गीत–संगितमा निरन्तरता दिनुभएको छ । उहाँ संघर्षशील गायक हो । गाउँघरका दुःख र पीडाका कुरा गीतमार्फत बाहिर ल्याउँदै आउनुभएको छ । यो खुशीको कुरा हो ।’

‘शून्य भयो गाउँ र घर, गर्नै छाडे खेती’ बोलको गीत आफूले राजकुमार बानियाँ र पशुपति शर्मासँगै गाएको स्मरण गर्दै त्यो गीतपनि धेरै राम्रो बनेको बताईन् । उनले भनिन्,‘यो गीतले राजकुमार भाईको सांगितिक यात्राको उचाईमा पुर्याउन मद्दत गर्नेछ ।’

कार्यक्रममा विशेष अतिथि पत्रकार ऋषि धमलाले नेपाली समाजमा लोक भाका र लोकदोहोरीको महत्व विशेष रहेको सुनाए । उनले भने,‘अहिले लोकदोहोरीको ठूलो क्रेज छ । यो गीत राम्रो बनेको छ ।’ उनले गीतमा सिर्जनशीलता देखिएको सुनाउँदै गीत सफल हुने विश्वास दिलाए ।

कार्यक्रममा उक्त गीतमा स्वर रहेकी गायिका प्रिती आलेले गीत सन्देशमूलक रहेको बताउँदै गीतलाई माया गरिदिन आग्रह गरिन् ।
त्यस्तै, गायक रविन लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने गायिका टिका सानुले पनि आफ्नो धारणा राखेकी थिईन् । उनले गीत राम्रो बनेको भन्दै माया गरिदिन दर्शक तथा श्रोतासमक्ष आग्रह गरिन् ।

कानून व्यवसायीसमेत रहेका निर्माता रमेश धरेलले गीतलाई दर्शक तथा श्रोताले माया गरिदिनेमा आफूहरु विश्वस्त रहेको बताए । धरेलले उक्त गीतबाट हुने आथिृक लाभ सामाजिक कार्यमा खर्चिने पनि घोषणा गरे ।

शब्द रचनाकार तथा गायक बानियाँले चुईगम र पराग सेवन स्वास्थ्यको लागि हानिकारक रहेको सुनाउँदै उक्त गीतमार्फत आफूहरुले चुईगम र पराग नखाऔं भनेर सन्देश दिन खोजेको सुनाए । उनले भने,‘गीत राम्रो बनेको छ । सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छौं ।’

बानियाँले यसअघि पनि दर्जनौं गीतहरु ल्याईसकेका छन् । उनका अधिकांश गीतहरु गाउँघरका कथा बोक्ने सन्देशमूलक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *