केएमसी कलेजले अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीको आरोप

Sharing is caring!

पुस ६, २०७८ । काठमाडौंको सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेजले एमबीबीएस र बिडिएसका विद्यार्थीहरूसंग चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढि जवरजस्ती रुपमा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेकोबाहेक अन्य शुल्क नलिने केएमसीले लिखित प्रतिवद्धता गर्नुपर्ने माग गरेको हो ।

विद्यार्थीहरुले करारनामाको नाममा कलेज प्रशासनले अनावश्यक दबाब दिन नपाइने र ऐच्छिक छात्रावासको व्यवस्था गर्नुपर्ने पनि माग राखेका छन् । उनहिरुले शिक्षण शुल्कमा कर लाग्ने भएमा लाग्ने कर विद्यार्थीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने कुरा कदापि मान्य नहुने पनि चेतावनी दिएका छन् । चिकित्सा ऐन २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्कबाहेकका सबै शुल्क ऐच्छिक हुन् भन्दै कलेजले लिन खोजेको अतिरिक्त शुल्कहरु विद्यार्थीहरु तिर्न बाध्य नभएको र अपिलम्ब खारेज गर्न माग गरेका छन् ।

अध्ययन अविधिभर विद्यार्थीले गर्नुपर्ने उपचार र स्वास्थ्य जाँचजस्ता कुराहरुमा ९० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । कार्यक्रममा बोल्दै एमबीबीएस तहमा अध्ययनरत छात्रा निशिका कोइरालाले आम विद्यार्थीहरुको माग आफूहरुले कलेजसमक्ष राखेको बताईन् । उनले कलेजले इन्टेन्सीप शुल्क नदिई विद्यार्थीहरुको श्रमशोषण गरेको आरोपसमेत आरोप लगाईन् । कोइरालाले शिक्षण शुल्क अतिरिक्त राखेर २० लाखभित्र के–के पर्छन् त्यसबारेमा विद्यार्थीहरुलाई हालसम्म केही सूचना नदिएको पनि उल्लेख गरिन् ।

कलेजले अनिवार्य रुपमा ५ वर्ष छात्रावास बस्नुपर्ने बाध्यता बनाएको उल्लेख गर्दै छात्रावासमा पनि न्यूनतम सुविधाको व्यवस्थासमेत नगरेको गुनासो पोखिन् । उनले वाईफाइको पनि सुविधा नदिईएको र आफ्नो आवाजबाहिर ल्याउन नपाउने भन्दै दबाब दिँदै आएको बताईन् । उनले भनिन्,‘यो शिक्षा हो की व्यवसाय हो ? कि त हाम्रो शुल्क फिर्ता गर्नुपर्यो, होइन भने हाम्रा माग पुरा हुनुपर्छ ।’

त्यस्तै, केएमसीमै एमबीबीएस तहमा अध्ययनरत विद्यार्थी राजन पाण्डेले चिकित्सा शिक्षा आयोगले एकीकृत म्याचिङ परीक्षा व्यवस्था गरेको सुनाए । केएमसीमा बाध्य भएर पढ्न परेको उनको भनाइ थियो । उनले शिक्षण शुल्क, ट्युशन फी लगायत सबै गरेर ४० लाख लाग्ने भनिएपनि अतिरिक्त शुल्क थपबारे सुन्दा आफुहरु आँत्तिएको बताए । भर्नाको क्रममा केही नभनेर पछि आएर मात्र ६० लाख रुपैयाँ भनेर आफूहरुलाई ठग्न खोजिएको उनको गुनासो थियो ।

पाण्डेले औसत मानिसहरुलाई ४० लाख कमाउन ४० वर्ष लाग्ने भन्दै २० लाख कमाउन अभिभावकहरुलाई अझ २० वर्ष समय लाग्ने बताए । ऐनमा उल्लेख गरिएको शुल्क आफुहरु तिर्न तयार भएको उनले सुनाए । अहिले चिकित्सा आयोग पनि अन्योलमा परेको आफुहरुलाई महशुस भएको बताए ।

कलेज प्रशासनले मनलाग्दी गर्दा आफुहरु ठूलो पीडामा परेको उल्लेख गर्दै उनले आफुहरुको माग सुन्ने कोही नभएको पनि गुनासो पोखे । उनले भने,‘ऐनमा भएको शुल्क सबैलाई हेरेर निर्धारण गरेको शुल्क हो । निम्न र मध्यम आय भएका विद्यार्थीहरुलाई कलेजको लुटतन्त्रले निकै मर्का परेको छ ।’ अहिले बाहिर बोल्दै हिँड्ने विद्यार्थीहरुलाई कलेजबाट रेस्टिकेट गर्ने धम्की दिईएको पनि उनले सुनाए । उनले केएमसीका अध्यक्षलाई व्यापारीको संज्ञा दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *